काठमाडाैं । बुधबारदेखि वर्षा केही कम भए पनि बाढीपहिरोको जोखिम भने कायमै रहेकाे मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो हप्ताको तुलनामा आगामी ३ दिन वर्षा केही कम हुने सम्भावना छ ।
मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भू-भागमा नेपाल नजिकै रहेकाले बिहीबार पनि केही ठाउँमा पानी पर्ने पौडेलले जानकारी दिए ।
उनका अनुसार आज प्रदेश १, २, ५, बाग्मती र गण्डकी प्रदेशका १-२ ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा पानी निकास नहुने ठाउँ जलमग्न हुनसक्ने भएकाले नदी किनारमा नजान तथा भिरालो जमिनमा यात्रा गर्दा सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी, नारायणी र यसका सहायक नदीमा भने बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाको भनाइ छ । कालीगण्डकीमा बहाव सतर्कता आसपास छ ।
आज नारायणी र यसका केही सहायक नदीमा बहाव केही बढ्ने तथा अन्य सबै प्रमुख र मझौला नदीमा बहाव केही घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।
आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती, बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना न्यून छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७