काठमाडाैं । लकडाउन खुलेकाे समाचारसँगै बाहिरी जिल्लाबाट राजधानी काठमाडाैं उपत्यका आउने साेच्नुभएकाे छ ? त्यसाे हाे भने प्रशासनकाे पास लिएर मात्रै आउनुहाेला । नत्र नाकाबाटै फर्किनुपर्ने हुन्छ ।
सरकारले साउन ६ गते राति १२ बजेदेखि लकडाउन अन्त्य गर्ने निर्णय त गरेकाे छ । तर, काठमाडौं उपत्यका भित्रिन भने पास अनिवार्य चाहिने छ ।
अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा भित्रिन र बाहिरिन आवश्यक पर्ने पास यथावत रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।
उनले भने, ‘निजी सवारीको जोर बिजोर भने हटिसक्यो ।’ भदाै १ पछि लामाे दूरीका सवारी सञ्चालन भएपछि भने पास नचाहिने उनले बताए ।
अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन्। त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति आवश्यक पर्ने गृह मन्त्रालयले जनाएकाे छ ।
साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो । लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने सञ्चालन नहुने सरकारले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७