काठमाडाैं । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै ४ महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ ।
सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारीसाधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरामा कम्पनीमा आवद्ध ३ सय ६० सवारी साधन सञ्चालन हुँदै आएका छन् ।
सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिए ।
आधारभूत सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।
पोखरामा विभिन्न यातायात कम्पनीका करिब ८ सय बस तथा २ हजार ५ सय ट्याक्सी सञ्चालन हुँदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७