ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका २ पुल बगाएको छ ।
फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए।
उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ ।
यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो ।
यस्तै दुई पुल बग्दा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पक्की पुल १२ लाख रुपैयाँ र काठको पुल भने दुई लाख रुपैयाँको लागतमा निर्माण भएको थियो ।
यता तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन् । तमोरमा करिब एक दशकयताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ । नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७