चितवन । ३६ घन्टापछि पहिराे पन्छाएर एकतर्फी सञ्चालन गरिएकाे नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेर सडक अवरुद्ध बनेकाे छ।
भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा मंगलबार राति करिब ८:४५ बजे पहिरो खसेको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो।
ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।
चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४:३० बजे एकतर्फी खुलाइएको थियो ।
पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए।
उनीहरू सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका थिए।
राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिएका छन्। केहीबेरमा पहिरो पन्छाउने काम थालिने उनले बताए। रासस
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७