काठमाडौं । साउन ८ गतेबाट पूर्णरूपमा सार्वजनिक सवारीसाधन चल्ने भएका छन् ।
बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीले जानकारी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।
विहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने उनीहरुले जानकारी दिए ।
सरकारले छोटो दुरीका मात्र सवारी साधन चलाउने निर्णय गरे पनि व्यवसायीले भने लामो दूरीका गाडी पनि चलाउने निर्णय गरेका हुन् ।
यातायात व्यवसायी र सरकारले सोमबार राजधानीलगायत सबै स्थानमा यातायात सेवा सञ्चालन गर्ने सहमति गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७