विराटनगर । अविरल वर्षाका कारण पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोसीमा पानीको बहाव बढेको छ ।
सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । जलस्तर बढेर बाँध भत्काउने र वस्तीमा पस्ने खतरा भएसँगै ढोका क्रमशः खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेजमा पानीकाे बहाव ३ लाख ३४ हजार ९ सय ९० क्युसेक पानी प्रतिसेकेन्ड छ ।
कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकाले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
ब्यारेज प्रशासनका अनुसार सप्तकोसीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तरभन्दा माथि पुगे खतरा मानिन्छ ।
सप्तरी र सुनसरीका सप्तकोसी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७