काठमाडाैं । सिन्धुपाल्चोकमा सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको खासा नजिक रहेको केरुङ च्छो नामक ताल फुट्न सक्ने खतरामा रहेकाले भोटेकाेसी र सुनकाेसी किनारका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गर्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको हाे ।
सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राप्त भएको’ जनाएको छ।
उक्त ताल फुटेमा भोटेकोसी किनारमा रहेको भोटेकोसी गाँउपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहका बस्तीहरु बगाउन सक्ने र ठूलो क्षति पुर्याउन सक्ने सम्भावना देखिएको जिप्रका सिन्धुपाल्चोकले जनाएको छ । प्रजिअ ढकालले सम्भावित बाढीबाट बच्नका आवश्यक पूर्वी तयारी अपाउन पनि भनेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७