काठमाडौं । अविरल वर्षापछि आएकाे बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।
धादिङकाे रोराङ गाउँपालिका मौवा खोलामा आएको बाढीले पुल नै भत्काइदिएकाे छ । राजमार्गको पुलको केही भाग नै बगेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
अप्ठ्याराे ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनका लागि पनि समस्या भएको प्रहरीले जनाएको छ ।
पुलमा क्षति पुगेपछि चितवन तथा पोखरा हुँदै काठमाडौं आउने सवारी साधनहरू चितवनतर्फ नै रोकिएका छन् ।
अविरल वर्षा र बाढीका राजमार्गको धादिङ खण्डमा मात्र ६ स्थानमा क्षति पुगेको र सोमबार यातायात खुल्ने संभावना नरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७