काठमाडाैं । मनसुन थप सक्रिय हुँदै जाँदा नेपालमा देशैभर वर्षा भइरहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घन्टा देशका धेरै ठाउँमा निरन्तरजसाे नै पानी पेने छ ।
हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको हुँदा मुलुकभर पूर्ण बदली रही धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षा हुने सम्भावना छ ।
त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने उनले बताइन् ।
नदी तटीय क्षेत्र तथा पहिराे र डुबानकाे सम्भावित क्षेत्रमा बसाेबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७