काठमाडाैं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षा नराेक्न आग्रह गरेकाे छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार १ विज्ञप्ति निकालेर शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको हाे ।
निजी विद्यालय सञ्चालकहरूका संस्था प्याब्सन र एन-प्याब्सनले साउन १ गतेबाट अनलाइन कक्षा बन्द गरी शिक्षक-कर्मचारीलाई बेतलबी घरबिदा दिने निर्णय गरेका थिए ।
विद्यालय सञ्चालकहरूकाे यस्ताे निर्णयपछि मन्त्रालयले हालकाे विषम परिस्थितिमा सिकाइ सहजीकरण नरोक्न भनेको हो ।
विज्ञप्तिमार्फत मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले मौद्रिक नीतिमा शिक्षालगायत व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरिसकेकाे भन्दै अनलाइन कक्षालाई निरन्तरता दिन भनेका हुन् ।
‘वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीकरण गर्न विद्यालयले व्यवस्थापकीय प्रबन्धको विषयमा स्थानीय तहको अनुमति लिने भन्ने व्यवस्था जेठ १८ मा मन्त्रालयबाट जारी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकाको बुँदा नम्बर १८ ‘झ’ मा उल्लेख रहेको छ', विज्ञप्तिमा भनिएकाे छ।
हेर्नुहाेस् विज्ञप्तिः
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७