काठमाडौं । आइतबारबाट मनसुनी प्रणाली थप सक्रिय भएकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा आइतबार बिहानदेखि नै वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने बताइएको छ ।
प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन माैसमविदले अनुराेध गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन देशका धेरै स्थानमा भारी वर्षकाे सम्भावना छ ।
अधिक वर्षाका कारण नदी तथा खोलामा पानीकाे बहाव अचानक वृद्धि हुने र पहाडी क्षेत्रमा पहिराे तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भएकाले नदी आसपासका बासिन्दा तथा पहिराे सम्भावित क्षेत्रका बासिन्दालाई सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७