बाँके । नेपालगन्ज उपमहानगरपालिका-४ की २६ वर्षकी १ महिलालाई डाक्टरले गत १४ असारमा सुत्केरी हुने समय दिए।
डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा ३ दिनअघि नै उनी भेरी अस्पताल नेपालगन्जमा पुगिन् । उनी ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुगेकी थिइन् ।
उनले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए । तर, डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् ।
नेपालगन्ज–४, कै अर्की महिलाले पनि डाक्टरले दिएको मितिभन्दा २ दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माइन् ।
यी २ महिला प्रतिनिधि पात्र मात्रै हुन् । धेरैलाई ‘नर्मल डेलिभरी’ स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढेको छ । चिकित्सक पनि पछिल्लो समय शल्यक्रियामार्फत महिलाले बच्चा जन्माउने प्रचलन बढेर गएको बताउँछन्।
प्राकृतिक रूपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक सुत्केरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा शल्यक्रिया गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाले शल्यक्रिया रोज्ने गरेका छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल प्रसूति रोग विशेषज्ञ डा. अङ्कुर भण्डारीका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । 'हामी सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्छौं । सम्पन्न परिवारका महिला प्रसव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाहनुहुन्छ', उनको भनाइ छ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गएको ३ आर्थिक वर्षमा बाँकेमा ६५ हजार १ सय ४४ महिला सुत्केरी भएका छन् । तीमध्ये १२ हजार ५ सय ४० अर्थात् करिब १९ दशमलव २५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बताइन्।
त्यस्तै गएको ३ आर्थिक वर्षमा प्राकृतिकरुपमा बच्चा जन्माउने महिलाको सङ्ख्या ५२ हजार ६ सय ४ अर्थात् ८० दशमलव ७५ प्रतिशत छ । जसअनुसार आव २०७३/०७४ मा १५ हजार ६ सय ७, आव २०७४/०७५ मा १६ हजार ८ सय ६३ र आव २०७५/०७६ मा २० हजार १ सय ३४ जनाले प्राकृतिकरुपमा बच्चा जन्माएका छन्।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार शल्यक्रियामार्फत सबैभन्दा धेरै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २२ प्रतिशत, भेरी अस्पतालमा १७ प्रतिशत र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा १४ प्रतिशतले बच्चा जन्माउने गरेका छन् भने २३ प्रतिशतले अस्पताल तथा गाउँकै स्वास्थ्यचौकीमा बच्चा जन्माउने गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७