कावासाेती । रतनपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब १ दर्जन गाउँ डुबानको जोखिममा परेका छन् ।
केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले बताए ।
यस क्षेत्रमा मात्रै नारायणी नदीका कारण करिब १ सय विगाह जग्गा बगरमा परिणत भएको रतनपुर– ३ का वडाध्यक्ष अमरबहादुर महतोले बताए ।
पछिल्लोपटक रतनपुरमा भएको कटानले रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, बरुवा, भडारालगायतका गाउँसमेत जोखिममा परेको छ ।
चितवनतर्फको धार परिवर्तन हुँदै नदी नवलपुरको भागमा आउँदा कटान बढेको स्थानीय तोयनारायण महतोले बताए । रतनपुरमा नारायणी नदी साविकको बहाव क्षेत्रदेखि करिब ३ किलोमिटर नवलपुरतर्फ सरेको उनले बताए ।
यस क्षेत्रका सयौँ घरपरिवार नदीका कारण विस्तापित बनेका छन् । नदीको कटान बढेपछि गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ, संविधानसभा सदस्य जीवन श्रेष्ठसहित भीमलाल अधिकारीको टालीले कटान क्षेत्रको निरीक्षण गरेको छ ।
प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले स्थानीय बजेटबाट मात्रै नदी नियन्त्रणको कार्य असम्भव भएकाले प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापनमा लाग्नुपर्ने बताए ।
प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले गैँडाकोटदेखि त्रिवेणीसम्म नै बाँध निर्माण गर्न आवश्यक रहेको र यसका लागि प्रदेशसँगै सङ्घीय सरकारले कदम चाल्नुपर्ने बताए । रासस
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७