सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिकामा १ युवकको हत्या भएको छ ।
शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या गरेको आरोपमा प्रहरीले बुधबार ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेकाको नाम सार्वजनिक गरेको छैन ।
हत्या आरोपमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए ।
सोमबार रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका–३ स्थित मुतनी नदीमा मङ्गलबार साँझ शव फेला परेको थियो । शवको टाउको र चिउँडोमा चोट देखिएको, कानबाट रगत बगेको, छाती र कुहिनाको छाला घिसारेर ताछिएको अवस्थामा शव नदीबाट निकालेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा उनको र रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो । छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो ।
छलफल आफ्नो पक्षमा भएपछि खुसी हुँदै गाउँ फर्किएका राम आफ्ना ४ साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका–३ नरहीमा पुगेर मासु, रक्सी खाएका थिए । सोही बेलादेखि राम बेपत्ता थिए ।
यसैगरी २०७४ फागुन २७ गतेको सामूहिक बलात्कारको घटनामा रामको उजुरीका आधारमा गाउँका ४ जना कारागारमा थुनामा छन् । उनीहरुलाई जनही १० वर्ष कैद सजायको फैसला भएको छ । अन्य २ जनाको हकमा मुद्दा मुल्तबी रहेको छ ।
प्रहरीले जग्गा विवादका पक्ष, बलात्कारको मुद्दामा कैदमा परेका पक्ष र सँगै रक्सी खाएका साथीलाई अनुसन्धानको दायरामा लिएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । रासस
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७