काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका २ मध्ये १ जनाको शव भेटिएको छ ।
परीक्षणका क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा मङ्गलबार दिउँसो १२ बजे २ जना बेपत्ता भएका थिए । तीमध्ये अन्दाजी २५ वर्षीय इन्जिनियर सतीश गोहितको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी रहेको पनि उनले जनाए ।
यसैबीच मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको छ । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दुर्घटनामा १० दिन पहिलेबाट सुरुङभित्र पठाइएको सबै पानी बाहिर निकालिएको बताइएको छ ।
अब पहिले त्रुटि सच्चाउने र त्यसपछि मात्रै पानी हाल्ने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । त्यहाँ कति पानी थियो भन्ने निर्माण व्यवसायीले बोर्डलाई जानकारी गराउने उनले बताए ।
आगामी दिनमा त्रुटि सच्चाएर र थप सर्तकता अपनाएर मात्रै पानी पठाइने आयोजनाले जनाएको छ । उनले भने, 'घटनास्थलमा पुगेर हेरेपछि मात्रै घटनाको कारण र क्षतिका विषयमा जानकारी हुन्छ ।'
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७