काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ।
सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।
रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको र पिसिआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ।
कोरोना संक्रमण जोखिमको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टाइनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए।
अहिले उनीहरुको परीक्षणको लागि नमूना संकलन भइरहेको छ। परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताए। उनले भने, 'अहिले धरहराको पुनःनिर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन्। हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ।'
भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ। निर्माणका लागि ३ अर्ब ४८ करोड रुपैयाँ लाग्ने जनाइएको छ।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुने छ। जहाँ २ वटा लिफ्ट हुने छ । एउटा परम्परागत भर्याङ रहने छ । लिफ्ट र भर्याङ २ वटै माध्यमबाट धरहरा चढ्न सकिने छ ।
कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् ।
सुरुमा ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भिमसेन थापाले निर्माण गरेका थिए । रासस
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७