जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ ।
गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिब १ सय ६० वर्षभन्दा पुरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यस कारागार पटकपटक डुबानमा पर्दै आएको उनले जानकारी दिए ।
कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ । कारागारभित्र ३ फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार (मूलकैदी) रमेशकुमार सिंहले बताए ।
कारागारमा ४ सय ९५ पुरुष, ४६ महिला र ४ आश्रित बालबालिका गरी जम्मा ५ सय ४५ जना छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उनले जानकारी दिए ।
त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्या परेको छ । पानीमै उभिएर ड्युटि गर्नुपरेको छ । समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाई नभएको जेलर महासेठले बताए ।
कारागारमा आज एकै दिन १ सय ५४ बन्दीमा ज्वरो तथा ४ जनामा झाडापखालाको समस्या देखिएको जेलर महासेठले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७