काठमाडाैं । वरिष्ठ कम्युनिस्ट नेतृ बालकुमारी थापाको मृत्यु भएको छ । नेकपा मकवानपुरकी अभिभावकसमेत रहेकी कम्युनिस्ट आन्दोलनकी नेतृ थापाको ७६ वर्षका उमेरमा गएराति हेटौँडा अस्पतालमा मृत्यु भएको हो।
तत्कालीन नेकपा (एमाले)का सल्लाहकारसमेत रहेकी थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (माले)को सेल्टरदाताका रूपमा चर्चित थिइन्।
लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिए। मकवानपुरको कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री थापा हेटौँडा उपमहानगरपालिका–१७ राजदेवी बस्दै आएकी थिइन् ।
उनले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई आश्रय दिने गरेको नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले बताए ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७