काठमाडौं । लकडाउनका बेला बढ्दो आत्महत्याको घटनाले युवाहरूमा नकारात्मक असर परिरहेको अवस्थालाई ध्यानमा राख्दै सेभ नेपाल, भ्वाइस अफ युथ नामक संस्थाले सोमबार राष्ट्रव्यापी भर्चुअल वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
२०७औं भानु जयन्तीको अवसर पारेर आयोजित प्रतियोगिताको शीर्षक ‘आत्महत्या कुनै समस्याको समाधान होइन’ राखिएको थियो । प्रयोगितामा सहभागी आठ जना प्रतियोगीमध्ये लिखित तथा इन्डिभिजुअल भिडियो स्पिच राउन्डबाट छनोट भई पाँच जनाले फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिस्पर्धामा आवर इङ्लिस बोर्डिङ स्कुल, इनरुवा सुनसरीकी समीक्षा दाहाल प्रथम भइन् भने नेपाल पुलिस स्कुल साँगा, काभ्रेकी ईशा थापा र उषा इङ्लिस बोर्डिङ स्कुल भरतपुर चितवनका सफल भुसाल बराबर अंक ल्याएर दोस्रो भएका थिए । त्यसैगरी, भेल्बेट इङ्लिस स्कुल इटहरी सुनसरीकी कुशुम रिमाल तेस्रो र उषा इङ्लिस बोर्डिङ स्कुल भरतपुर चितवनककै जिया मल्ल सन्त्वना भएका थिए ।
जुम प्रविधि प्रयोग गरी श्रीराम भण्डारीको सभापतित्वमा सञ्चालन कार्यक्रमको निर्णायक मण्डलमा जितेन्द्र रसिक, सुविद गुरागाई र सुशील तिमिल्सिना रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि सन्जोग अधिकारी, विशेष अतिथि संकेत अगस्ती, सेभ नेपालका अध्यक्ष युलान यादव, गायिका साक्षी अगस्तीलगायतले युवाहरूमा सकारात्मक धारणा र कर्मको मात्रा बढाउन सके आत्महत्याजस्तो नकारात्मक क्रियाकलाप घटेर जाने तथा त्यसबाट देश तथा समाजलाई हुने क्षति रोकन सकिने धारणा राखेका थिए ।
नम्रता शाही ठकुरी र सुजिन कार्कीले सञ्चालन गरेको सो कार्यक्रमको व्यवस्थापन प्रनिशा डंगोलले गरेकी थिइन् । विजेतालाई प्रमाण–पत्र र पुरस्कारको केही दिनमै उपलब्ध गराइने भ्वाइस अफ युथका सभापति श्रेय अगस्तीले बताए ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७