चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक पुनः भासिएपछि सवारी एकतर्फी भएको छ ।
सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः भासिएसँगै सवारी सञ्चालनमा रोक लगाइएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो ठाउँमा सडक थप भासिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो ।
उनले सोमबार बिहान यसअघि भासिएको ठाउँमा थप भासिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिए। धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उनले जानकारी दिए ।
सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको १ वर्ष नपुग्दै भासिएको हाे। अधिकारीका अनुसार १७ किलोमा ३ देखि साढे ३ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा १ फिटभन्दा बढी सडक भासिएको छ ।
सो ठाउँमा सडक ९ मिटर फराकिलो छ। त्यसै ठाउँमा विसं २०६० मा सडकमुनिबाट एंकर पर्खाल दिएर निर्माण गरिएको थियो। त्यसैमा समस्या आएको जनाइएको छ।
सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एंकर पर्खालले काम गर्न छाडेको हो। २ वर्षअघि सो सडक विस्तारको काम गरिएको हो ।
सडक निर्माण गरिएको १ वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा साढे ६ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ। ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ।
अधिकारीले भासिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताए । भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ । अविरल वर्षा भइरहेकाले सो सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी नै रहेको उनले जानकारी दिए ।
यो सडक राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्ग हो । रासस
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७