काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेका छन् ।
सो अवसरमा उनले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै गरेकाले पहिला मन्त्रालय आफैँ डिजिटलाइज्ड हुनुपर्ने बताए ।
सरकार डिजिटल ढाँचामा गइसकेकाले अबको कामकारवाहीमा कागजविहीन प्रविधिको अवलम्बन हुनुपर्नेमा उनको जोड थियो ।
अहिले न्यु मिडियाका रूपमा आएका फेसबुक तथा युट्युबलगायत सञ्जालबाट अराजकता मच्चाउने काम पनि भइरहेकाले यस्ता गतिविधितर्फ सचेत बन्नुपर्ने उनले बताए ।
‘न्यु मिडियाबाट धेरै मानिसको मान, मर्यादामा आघात पुगेको, सामाजिक, राजनीतिक जीवनमा आँच आएको, मुलुक–मुलुकको सम्बन्धमा खलल पुग्ने गतिविधि भइरहेको प्रति समस्त सञ्चार जगत्को ध्यान जानु जरुरी छ’, डा खतिवडाले भने ।
त्यस्ता मिडियामाथि कारबाहीको काम काउन्सिलको भएकाले अरुको निगरानी गर्ने निकाय आफैँ सजग रहन पनि उनले सुझाव दिए । हालको सञ्चारसम्बन्धी कानुनमा के कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन पनि मन्त्री डा खतिवडाले आग्रह गरे ।
उजुरी मात्रै गर्ने तर कारबाही नहुने भन्ने गुनासो नआओस् भन्दै उनले स्वतन्त्रताभित्र जवाफदेहिता पनि हुने धारणा राखे ।
सो अवसरमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा पहिले १ हजार ७ सय अनलाइन सूचीकरण हुँदा सूचना विभागमा ५ सय मात्र दर्ता भएको जनाउँदै काउन्सिलमा कानुनी संरक्षणका लागि र विभागमा प्रेस पासका लागि मात्रै दर्ता गराउने गरेको विगतको परिपाटीको चर्चा गरे ।
उनले मिडियाबाट आएका सामग्री हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भए/गरेका कामकारबाहीका विषयमा जानकारी दिए ।
काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले यस वर्ष हालसम्मकै सबैभन्दा बढी अर्थात् ७ सय २० विद्युतीय माध्यम र १ सय ७९ छापा माध्यमसम्बन्धी उजुरी आएको तथा कोभिड –१९ को कहरबीच ४ महिनाकाे अवधिमा १ सय ९७ अनलाइनलाई स्पष्टीकरण सोधिएको र दर्ता नभएका १ सय ४ अनलाइनलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, असार २९, २०७७