सिन्धुपाल्चोक । जिल्लाकाे कमलामाई नगरपालिका–७ बुद्धनगरमा सोमबार शान्तिदूत गौतमबुद्धको मूर्ति अनावरण गरिएको छ। उक्त मूर्तिको नगरप्रमुख खड्गबहादुर खत्रीले अनावरण गरेका हुन्।
नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको मूर्ति अनावरणपछि प्रमुख खत्रीले यस स्थानमा बुद्धको मूर्ति स्थापनाले सिन्धुलीमा शान्तिको सन्देश छर्न सहयोग पुगेको बताए।
हिमाल, पहाड र तराइका जिल्लासँगै राजधानी जाने सवारीको मुख्य सडक बिपी राजमार्ग भएको र बिपी राजमार्गको छेउमा मापदण्डअनुसार बुद्धको मूर्ति स्थापना गरिएको उनले बताए।
तामाङ समुदायको बाहुल्यता रहेको साविक माझिटार हाल बुद्धनगर नामले मात्र नभई कामले पनि बुद्धनगर भएको उनको भनाइ छ। बौद्ध धर्मको पूजाआजासँगै बुद्धको मूर्ति अनावरण गरिएको छ।
नगरपालिकाको १५ लाख रूपैयाँ र उपभोक्ताको श्रमदान ३ लाख ७५ हजार रूपैयाँको लागतमा मूर्ति स्थापना गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष कर्ण घिसिङले जानकारी दिए।
बौद्ध धर्मको मान्यतानुसार लामाहरुबाट आवश्यक विधि प्रक्रिया पूरा गरिएको उनको भनाइ छ। उक्त मूर्ति नेपाली सेनामा कार्यरत माधव पौडेलले बनाएका हुन्।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७