तनहुँ । अविरल वर्षासँगै आएको पहिराेमा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
पहिराेले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा ४ जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा १ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पहिराेले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको मृत्यु भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।
सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिराले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ ।
ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएकामध्ये १ जनाको शव फेला परेको छ भने बाँकी ४ जना बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
स्थानीय अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७