भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि बलिउडका हस्तीहरू र उनका प्रशंसकहरूले उनको सुस्वास्थ्यको कामना गरेका छन् ।
आफूलाई कोभिड-१९ भएको उनले गत मध्यराततिर ट्वीटमार्फत् जानकारी गराएका थिए । लगत्तै उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी दिएका थिए।
दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। त्यसमा बलीवुडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत विभिन्न क्षेत्रका मानिसहरू छन् ।
ट्विटरमा अमिताभ बच्चनका ४ करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन् ।
नआत्तिन आग्रह
अभिताभ बच्चनले ट्वीट गर्दै भनेका छन्, 'मेरो परीक्षण पोजेटिभ देखिएको छ, अस्पतालमा भर्ना भएको छु। अस्पतालले अधिकारीहरूलाई सूचित गरिरहेको छ। परिवारका सदस्य र हाम्रा कर्मचारीहरूको पनि परीक्षण गरिएको छ...।'
५ दशकदेखि हिन्दी फिल्मका स्टार बनेका ७७ वर्षीय बच्चनले २ सय वटा चलचित्रमा अभिनय गरेका छन् ।
उनका छोरा ४४ वर्षीय अभिषेक बच्चनले ५० भन्दा बढी चलचित्रमा अभियन गरेका छन् । उनले ट्विटमा आफू र आफ्ना बुवालाई सामान्य लक्षण देखिएको जनाएका छन् ।
अभिषेक बच्चनले सबैलाई शान्त रहन र नआत्तिन आग्रह गरेका छन् । दुवै जना मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएका छन् ।
जया र ऐश्वर्याको पनि परीक्षण
अस्पतालका एक अधिकारीले इन्डियन एक्सप्रेस पत्रिकालाई बताएअनुसार दुवैको स्वास्थ्य अवस्था स्थिर छ । अभिताभ बच्चनले विगत १० दिनमा आफूसँग सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन् ।
महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचारसंस्था एएनआईलाई दिएको जानकारी अनुसार अमिताभ बच्चनकी पत्नी जया बच्चन र बुहारी ऐश्वर्या राय बच्चनको पनि कोरोना भाइरसको परीक्षण गरिएको छ।
दुवै जनाको परीक्षणको नतिजा आइतबार आउने उनले बताए ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७