अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएयता पहिलो पटक सार्वजनिक रूपमा मास्क लगाएका छन् ।
घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वासिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाएका हुन्।
उनले भने, 'म कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ । तर समय र ठाउँअनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो ।'
यसअघि उनले आफूले मास्क नलगाउने बताएका थिए र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए ।
तर शनिवार उनले भने, 'तपाईं अस्पतालमा रहँदा, विशेषगरी जहाँ तपाईं थुप्रै सैनिक र मानिसहरूसँग कुरा गरिरहनु भएको छ, मलाई लाग्छ, मास्क लगाउनु राम्रो कुरा हो ।'
तर एप्रिल महिनामा अमेरिकाको सेन्टर्स फर डिजlज कन्ट्रोल एन्ड प्रेभेन्सन (सिडिसी) ले भाइरसको विस्तार रोक्ने काममा सहयोग पुर्याउन मानिसहरूलाई मास्क वा कपडाले मुख छोप्न सिफारिस गर्दा ट्रम्पले आफूले त्यसको अनुसरण नगर्ने संवाददाताहरूलाई बताएका थिए।
केही सञ्चारमाध्यमले राष्ट्रपतिका सल्लाहकारहरूले उनलाई सार्वजनिक स्थानमा मास्क लगाउन बारम्बार आग्रह गरेको उल्लेख गरेका थिए।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७