म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी बेपत्ता भएका २१ मध्ये ९ जनाको शव भेटिएको छ ।
वडाध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा १, ठूलोगाउँमा १ र राम्चेमा ७ जनाको शव भेटिएको हो ।
७ जना बेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदै छ । रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर बेपत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै शव भेटिएको थियो ।
मालिका गाउँपालिका-७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा बेपत्ता ८ को खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाध्यक्ष रेशम जुग्जालीले बताए ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत् बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् ।
दुखुखोलाले बगाएर बेपत्ता भएकी मालिका-६ की गीता रोका अझै फेला परेकी छैनन् ।
मराङको राम्चेमा पहिरोमा परी घाइते भएका ४ जना घाइतेको हेलिकप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ । १ जना गर्भवतीसमेत छिन् ।
यसैबीच, म्याग्दीको मालिका गाउपालिका-५ देवीस्थान र धवलागिरी गाउँपालिका-७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन् ।
केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लब र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ ।
देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रुन्मामा सारिएको सूर्यमुखी युवा क्लबका अध्यक्ष भकबहादुर घर्तीले बताए । जुग्जाका १०, पन्थोकका ९, घरिथोकका ४ र मगरदाङका १ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
रुन्माको नवसिर्जना युवा क्लबको भवन पुरिएको छ । ३० किलोवाट क्षमताको मगरदाङ लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ ।
गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ । देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झोलुङ्गे पुल बगाएको छ । थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए ।
धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो खस्न थालेपछि ६ परिवार विस्थापित भएका छन् ।
मनप्रसाद मगर र डण्डपानी जैसीको घरमा पहिरोले क्षति पुर्याएको देवी देउराली युवा क्लवका सदस्य लोकेश गर्बुजाले बताए । मगर, जैशी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
धेरै ठाउँमा पहिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउनै जोखिममा परेको गर्बुजाले बताए ।
पहिरो र स्थानीय खोलामा आएको बाढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्षति पुगेको छ ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७