काठमाडौं । सरकारले सवारी साधन चलाउन दिने निर्णय गरे पनि यातायात व्यवसायीहरुले भने सवारीसाधन नचलाउने निर्णय गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो ।
सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर, व्यवसायीले सरकारसँग विभिन्न शर्तहरु राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेका छन् ।
महासंघले देशैभर कुनै सवारीसाधन संचालन नगर्न सर्कुलरसमेत जारी गर्ने निर्णय गरेको छ । 'महासंघको बैठकले गाडी सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको छ', महासचिव सरोज सिटौलाले भने, 'हाम्रा गाडीहरु कुहिएर बसेका छन् । सञ्चालन गर्ने पक्षमा नै छौँ । हाम्रो माग केही पनि छैन । अहिलेको अवस्थामा कसरी सञ्चालन गर्ने हो ? सरकारले खर्च हिसाब गरिदेओस् ।'
भोलि सार्वजनिक सवारी चलेपनि रोग संक्रमण फैलाएको आरोप लाग्न सक्ने भन्दै महासंघले सवारी चल्नुअघि नै त्यस्तो जोखिमको मूल्यांकन गरेर योजना बनाउनुपर्ने माग गरेको छ ।
महासंघले हाल गाडीको सबैजसो कागजपत्रको म्याद सकिएको भन्दै त्यसको नवीकरणबारे पनि सरकारले नीति ल्याउनुपर्ने माग गरेको छ ।
मन्त्रिपरिषदको बैठकले शुक्रवारदेखि नै काठमाडौं उपत्यकाका तीनै जिल्ला र अन्यमा जिल्लाभित्र सञ्चालन गर्न दिने निर्णय गरेकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७