पाेखरा । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु भएका ५ जनाकाे पहिचान भएकाे छ ।
पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका ८ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी ८ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा, १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी ५ वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाकी साली २८ वर्षीया सरस्वती श्रेष्ठ उनका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेकाे अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो।
पिङ्की थापाको जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँकी सरस्वती २ छोरासहित दिदीको घरमा आएकी थिइन् । रासस
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७