पोखरा । वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्कीमा ७ जनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो ।
बिहीबार राति साढे २ बजेको समयमा आएको पहिरोले घर पुर्दा पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा एउटै घरमा रहेका ५ जनाको मृत्यु भएको छ ।
घरमाथिको सडक भत्किँदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।
थापाको घर पहिरोमा पर्दा थापासहित उनकी श्रीमती सोममाया, २ नाती र छिमेकी इशीका थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
बाँकीलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल लगिएको र मणिपाल अस्पतालमा उपचार भइरहेको हमालले जानकारी दिए ।
राती जन्मदिन मनाउन अरु पाहुनासमेत आएकाले घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन । हराइरहेको आशंकामा प्रहरीले खोजी जारी राखेको छ ।
यस्तै, कास्कीकै पोखरा महानगरपालिका २५ हेम्जामा गएको पहिरोमा परी ७० वर्षीया महिलाको मृत्यु भएको छ। स्थानीय रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा उनकी आमा भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको पनि कास्की प्रहरीका प्रवक्ता डिएसपी हमालले बताए ।
यसैगरी पोखरा महानगरपालिका २६ स्थित पैतेको डाँडामा आएको पहिरोमा परी १ पुरुषको मृत्यु भएको छ। कास्कीका प्रहरी प्रवक्ता डिएसपी हमालका अनुसार बिहीबार राति आएको पहिरोले पुर्दा अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७