रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले आठबिसकोट नगरपालिका ३ रेझेखोलाकी सीता दमाईंको १ तले घर पुरिएको हो । घर पुरिँदा २८ वर्षीया सीता र छोरा ६ वर्षीय हाविलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।
पहिराले घर पुरिँदा उनकी छोरी ८ वर्षीया हिरा घाइते भएकी छन् उनीको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
उनका पति तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएका थिए । घर पुरिएको खबर पाउने बित्तकै पुगेको प्रहरी टोली र स्थानीय वासिन्दाले हिराको उद्धार गरेका हुन् । सीता र हाविल भने मृत भेटिएका छन् ।
घाइते हिराको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७