काठमाडाैं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५–जम्बु र भोटेकोसी गाउँपालिका-५ बुलकोटेमा गएरातिको बाढीपहिराेमा परी घाइते भएका ७ दिने शिशुसहित ६ जनालाई हेलिकोप्टरद्वारा उपचारका लागि काठमाडाैं ल्याइएकाे छ ।
घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी ७ दिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ ।
घाइतेलाई एयर डाइनेस्टी र माउन्टेन एयरको हेलिकोप्टरद्वारा काठमाडाैं पठाइएकाे प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यसैबीच बाढी र पहिराेमा परी २० अझै बेपत्ता छन् । बेपत्ता हुनेहरूमा जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोसी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इन्जिनियर आकाश केसी छन् ।
त्यसैगरी बुलकोटेका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन् ।
बाढीले कैयाैं बस, ट्यांकर, ट्रक र कारसमेत बगाएको छ । दुवै ठाउँमा गरी ३६ घरटहरा बगेका छन् । भोटेकोसीले बाह्रबिसेस्थित इलाका प्रहरी कार्यालय नजिक अरनिको राजमार्ग र जुरेमा करिब ३ सय मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७