काठमाडौं । सरकारले उपत्यकाभित्रका जिल्लाहरु र अन्य जिल्लाको हकमा जिल्लाभित्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चल्न दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् ।
सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् ।
ट्याक्सीमा चालकबाहेक बढीमा २ जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिने निर्णय गरेको छ ।
सार्वजनिक यातायात तथा ट्याक्सी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । सार्वजनिक सवारी चलाउँदा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गर्ने निर्णय पनि सरकारले गरेको छ।
क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने पनि मन्त्री खतिवडाले जानकारी दिए ।
मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्ने छन् भने अन्य यातायातका साधन सञ्चालनका लागि केही समय लाग्ने छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७