घाँटीबगर (दार्चुला) । हुन त भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरामा आफ्नो कब्जा जमाएको दशकौँ भयो । भारत स्वयंले विवादित भूमिको रुपमा स्वीकार गरिसकेको र नेपाली पक्षले पनि पटकपटक आफ्नो भूमि फिर्ता गर्न आग्रह गरिरहेकै थियो । विवादित भूमिका रुपमा रहेका यी भूमि फिर्ता गराउन त्यतिबेला मात्रै नेपालले जोडदार रुपमा माग गर्यो, जतिबेला भारतले आफैँले विवादित भनी स्वीकार गरेको भूमि औपचारिक रुपमा आफ्नो बनाउने अभियान आरम्भ गर्यो ।
बेलाबेला भूमि मिचिएकोबारे विरोध जनाएको भए पनि यतिबेला जस्तो नेपालले आफ्नो भूमि फिर्ता गराउन यसअघि कहिल्यै औपचारिक कदम चालेको थिएन । तर विवादको निरुपणका लागि बहानाबाजी गरिरहेको भारतले जब हाम्रो भूमि औपचारिक रुपमा गत मंसिरमा आफ्नो नक्सामा पार्यो, तब नेपालले आपत्ति जनाउनु स्वभाविक थियो । काश्मीरलाई केन्द्र शासित प्रदेश बनाउने र लद्दाकलाई जम्मु काश्मीरबाट अल्ग्याउने निर्णयसँगै गत मंसिर महिनामा भारतले आफ्नो नयाँ प्रशासनिक नक्सा सार्वजनिक गर्यो । त्यसबेला आफ्नो भूमिका लागि मात्रै उसले नयाँ नक्सा सार्वजनिक गरेन, योजनाबद्ध रुपमा नेपालका भूमिहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई आफ्नो उत्तराखण्डभित्र पार्ने षडयन्त्र गर्यो । त्यसयता नेपाल र भारतबीच त्यो भूभागलाई लिएर बारम्बार विवाद भइरहेको छ ।
आफ्नो भूमिसमेत समेटेर जारी गरेको भारतको नयाँ नक्साबारे नेपाल सरकारले विरोध जनाउँदा समेत उसले त्यसबारे कुनै सुनुवाइ गरेन । बरु गएको वैशाख २६ गते धार्चुला–लिपुलेक सडक उद्घाटन समेत गरिछाड्यो । त्यसपछि भने नेपालले औपचारिक आपत्ति मात्रै जनाएन, गुमेका भूभागसमेत समेटेर नयाँ नक्सा जारी गर्ने काम गर्यो । नयाँ नक्सा जारी गरेको मात्रै होइन, सो नक्सालाई संघीय संसदबाट सर्वसम्मतले पारित पनि गर्यो ।
२ देशबीच यसबारे विवाद चलिरहेकै बेला भारत सरकारले भने आफ्नो रणनीतिक महत्वको सडक भन्दै धार्चुलादेखि लिपुलेकसम्म पुग्ने सडक निर्माणको कामलाई तीव्रता दिएको छ । भारतले महाकाली करिडोरमा सडक निर्माणको काम तीव्र बनाएपछि त्यसको प्रत्यक्ष असर नेपालतर्फ परिरहेको छ । भारतले निर्माण गरिरहेको यो सडक एकातिर सीमा कानुनको विरुद्ध छ भने अर्कातिर उसले नियोजित रुपमा नेपालतर्फ असर पुर्याउने गरी ब्लास्टिङको काम गरिरहेको छ ।
सडक निर्माणको काम गरिरहँदा उसले ठाउँठाउँमा सेनाका ठुल्ठुला टुकडी तैनाथ गरेको छ भने त्यसका अलावा उसका इन्डो तिब्बत सुरक्षा दस्ता र सीमा सुरक्षा दस्ता समेतलाई ठाउँठाउँमा तैनाथ गरेको छ । उनीहरु आफ्नो सडक निर्माणको कामलाई निरन्तर अनुगमन गरिरहेका देखिन्छन् । भारतीय पक्षले आफ्नो भूमिमा सडक निर्माण गरे पनि नेपालतर्फको पहाडतर्फ असर पर्ने गरी ब्लास्ट गरिरहेको छ । उसले गरेको यही ब्लास्टका कारण नेपालतर्फ ठाउँठाउँमा पहिरो गइरहेको छ । भारतीय सडक निर्माणका क्रममा गरिएको बिस्फोटले नेपालतर्फको घाँटीबगर क्षेत्रको मौरीभीरमा ठूलो पहिरो गएर स्थानीय जनताले प्रयोग गर्ने ४ सय ५० मिटर जतिको घोडेटो बाटो अवरुद्ध भएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर १ जोड्ने त्यही घोडेटो बाटो निर्माणको उद्देश्यसहित घाँटीबगर इलाकामा नेपाली सेना अस्थायी बेस क्याम्प बनाएर बसेको छ । व्यास गाउँपालिका, तिंकर, छाङरु जस्ता भूभागसम्म पुग्ने त्यो घाेडेटो बाटो अवरुद्ध भएपछि पुननिर्माण गरिदिने उद्देश्यले बसेको नेपाली सेनाको अस्थायी बेस क्याम्प भारतीय पक्षका लागि टाउको दुखाइको विषय बनिरहेको छ । अस्थायी बेस क्याम्प बसेदेखि भारतीय पक्षले निरन्तर यस क्षेत्रलाई निगरानीमा राखिरहेको स्थानीयको अनुभव छ ।
सेनाको उपस्थिति के उद्देश्यले भएको भन्नेतर्फ जाँदै नगई दिनहुँ बेसक्याम्पको पारिपट्टिबाट फोटो तथा भिडियो लिने काम भारतीय सुरक्षाकर्मीले गरिरहेका छन् । सुरक्षाकर्मीले मात्रै होइन, भारतीय मिडियाले समेत एकतर्फीरुपमा विषयको वास्तविकता नै नबुझी सेनाको उपस्थितिलाई २ देशबीच भएका सीमा विवादसँग जोड्ने काम गरिरहेका छन् ।
घाँटीबगर इलाका, जहाँ नेपाली सेनाले भत्किएको ४ सय ५० मिटर बाटो निर्माणको उद्देश्यसहित आफ्नो अस्थायी बेस क्याम्प निर्माण गरेको छ । ठिक त्यसको पारिपट्टि भारतको पिथौरागढ जिल्लाको माल्पा पहाड पर्छ । हुन त भारतले त्यस इलाकामा त आफ्नै भूमिमा बाटो बनाइरहेको हो । तर नेपाली सेनाको उपस्थिति देख्नेबित्तिकै भारतीय पक्षले नियोजित रुपमा ठिक बेस क्याम्पको पारिपट्टिको पहाडमा विस्तारको कामलाई केन्द्रित गरेको छ । नेपाली सेनाको बेसक्याम्प बसेको ठिक्क पारिपट्टि माल्पा पहाडमा उसले विस्तारको काम केन्द्रित गर्दा बेस कयाम्प नै अप्ठ्यारोमा परेको छ ।
सेनाको बेस क्याम्पतर्फ फर्काएर भारतीय पक्षले ठुल्ठुला ब्लास्टिङ गरिरहेको छ । उसले गरेको ब्लास्टिङका कारण फुटेका चट्टानका टुक्राहरु सिधै बेस क्याम्पका त्रिपालहरुमा लाग्ने गरेका छन् । जसले सेनाको बेस क्याम्पका त्रिपालहरु च्यातिनुका साथै दिनमा पटकपटक बेस क्याम्प छोडेर भाग्नुपर्ने अवस्था पनि आउने गरेको छ ।
त्यति लामो बाटो निर्माण गरिरहेको भए पनि भारतीय पक्षले आफूहरुको बेस क्याम्प बसेपछि ठिक पारिपट्टि सडक विस्तार गर्ने र चट्टान फोर्ने काम गरिरहेको बेस क्याम्पको नेतृत्व गरिरहेका सेनानी ब्रज कुँवरको अनुभव छ । कुँवरका अनुसार भारतीय पक्षले दिनमा पटकपटक ब्लास्ट गर्ने गरेको छ । जनाउका लागि एकपटक सिठ्ठी बजाउनेबाहेक भाग्नेसम्म समय नदिने गरेको कुँवरको अनुभव छ ।
घोडेटो बाटो निर्माणको उद्देश्यसहित राखिएको बेस क्याम्पले भारतीय पक्षको यति टाउको दुःखेको छ कि उसले सम्पूर्ण सडक विस्तारको अभियानलाई यहीँ केन्द्रित गरेको छ । जिल्लास्थित अधिकारीहरुले आफ्नो लेबलबाट कुरा गर्दा विस्तारको काम अन्यत्र केन्द्रित गरिदिने मौखिक आश्वासन भारतीय पक्षबाट पाए पनि व्यवहारमा उनीहरुले त्यसो गरेका छैनन् ।
ब्लास्टिङ निरन्तर चलिरहको छ । उता गरिएको ब्लास्टले यता नेपालपट्टि भूकम्पजस्तै भाइबे्रसन हुने गरेको छ भने उता फुटाइएको चट्टानका टुक्राहरु बेस क्याम्प वरपर बर्सिरहेका हुन्छन् । पहिलो कुरा त भारतीय पक्षकै ब्लास्टिङका कारण घाँटीबगर क्षेत्रको मौरीभीरमा पहिरो गएको थियो । सोही पहिरोका कारण स्थानीयले दशकौँदेखि प्रयोग गर्दै आइरहेको बाटो अवरुद्ध भएको थियो । सोही अवरुद्ध भएको सडक निर्माणका लागि भन्दै सेनाले आफ्नो अस्थायी बेस क्याम्प बनाएको हो ।
एकातिर नेपाली सेनाको बेस क्याम्पलाई लक्षित गर्दै भारतीय पक्षले पहाडमा बिस्फोट गराइरहेको छ भने अर्कातिर उसले बनाइरहेको एकतर्फी बाटो निर्माणका कारण महाकालीले आफ्नो बहावसमेत परिवर्तन गरिरहेको छ । ठुल्ठुला पहाडहरुको बीचबाट बगिरहेको महाकाली नदी दुवै देशको साझा सीमा हो । महाकाली नदीको मौजुदा अवस्थिति परिवर्तनको अवस्थामा दुवै देशको सहमति आवश्यक पर्छ । तर भारतीय पक्षले पहिलो कुरा त नेपाली भूमि समेत मिचेर त्यहीँ पुग्ने गरी बाटो निर्माण गरिरहेको छ भने अर्कातिर उसले आफ्नोतिर ठुला चट्टान फुटाएर महाकाली नदीमा निरन्तर खसाल्दा नदीको बहाव नेपालतर्फ फर्किरहेको छ ।
नियमित रुपमा पहाडमा बिस्फोट गरेर ठुलठुला मेसिनको प्रयोगले फुटेका चट्टानलाई महाकाली नदीमा फ्याँक्ने गरेको छ । जसका कारण महाकाली नदीले आफ्नो धार परिवर्तन गर्दै निरन्तर नेपालतर्फ च्यापिरहेको छ । कति ठाउँमा त महाकाली पुरेर ठाउँठाउँमा ताल नै बनेको स्थानीयको भनाइ छ ।
नेपाली पक्षको विरोधका बाबजुद दोपाखे नजिक नदीको बीचमा रहेको ठूलो पहरो बिस्फोट गराउँदा महाकाली नेपालतर्फ धकेलिएको र हालसालै त्यसक्षेत्रमा अर्को पहिरो गएको सोही बाटो भएर आएका तिंकरका दानसिह तिंकरीले आजको न्युजलाई जानकारी दिए । उसको ज्यादती भूमि मिचेर मात्रै रोकिएको छैन, नेपाली भूमिलाई समेत निरन्तर धक्का पुग्ने गरी पूरै महाकाली करिडोरभरि एकतर्फी सडक निर्माणका नाममा ज्यादती गरिहेको छ ।
चट्टान र पहराहरु नदीमा निरन्तर खसालिरहेका कारण कैयौं ठाउँमा महकाली थुनिनुका साथै नदीले आफ्नो बहाव पूरै परिवर्तन गरिरहेको छ । यदि समथर भूभाग हुँदो हो त नदी हिजो जस्तो अवस्थामा थियो त्यो भन्दा अर्कै ठाउँ पुगेर फेरि नेपालको भूमि भारततर्फ पुगिसकेको हुन्थ्यो । तर ठुल्ठुला पहाडको बीचमा बगिरहेको नदी नेपालका पहाडलाई च्याप्दै ल्याए पनि अन्यत्र जाने ठाउँ भने त्यति छैन । तर त्यो बिस्फोट र नदीको बहावका कारण नेपालतर्फको पहाडमा ठाउँठाउँमा पहिरो जाने समस्या भइरहेको छ ।
नेपाली भूमिलाई आफ्नातर्फ पारी सो ठाउँसम्म पुग्ने गरी एकतर्फी रुपमा बनाइँदै गरेको यो सडकले एकातिर सीमा कानुनहरु उल्लंघन गरेको छ भने अर्कातर्फ महाकाली नदीको बहाव परिवर्तन गराउने र नेपालतर्फ निरन्तर पहिरो जाने समस्या भइरहेको छ । स्थानीयले गरेको पहललाई टेरपुच्छर नलगाइरहेको भारतलाई कम्तीमा नेपाल सरकारले नियमहरु पालना गराउन पहल गर्नुपर्छ । नभए स्थानीय विस्थापित हुने मात्रै होइन, बाटो निर्माणमा संलग्नहरु दुर्घटनामा पर्न सक्ने खतरा विद्यमान छ । यसतर्फ समयमै नेपाल सरकारले कूटनीतिक पहल गर्नु आवश्यक छ । नभए लामो समयदेखि सरकार विहीनताको मारमा परिरहेका त्यस क्षेत्रका नेपालीहरु फेरि पनि त्यही नियति भोग्न बाध्य हुने छन् ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७