काठमाडाैं । सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा गएकाे बाढी र पहिरोमा परी डेढ वर्षीया छोरी निउना बस्नेत र उनका बुबा २० वर्षीय निकेश बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाह्रबिसेका ४ र भोटेकोसीका २ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
बाह्रबिसेका माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ घाइते भएका छन् भने भोटेकोसीमा फुर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते भएका छन् ।
भोटेकोसी ५ का दोर्जे तामाङ, लाक्पा तामाङ, मन्जु तामाङ, पासाङ नुर्वु तामाङ, चायल तामाङ बेपत्ता छन् ।
यसैगरी बाह्रबिसे ५ का भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ गरी १६ जना बेपत्ता भएका छन् ।
यस्तै बेपत्ता हुने अन्यमा सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ रहेकाे प्रहरीले जानकारी दिएको छ ।
उद्धारका लागि पुग्याे हेलिकाेप्टर
यसैबीच, घाइतेहरूकाे उद्धारका लागि सभामुख अग्निप्रसाद सापकाेटासहितकाे टाेली हेलिकाेप्टरमा घटनास्थल पुगेकाे छ ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालका अनुसार हेलिकोप्टर घटनास्थलमा पुगिसकेको र घाइतेहरुको उद्धार थालिएकाे छ ।
केहीबेरअघि नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल सहितको टोली घटनास्थल पुगेको हाे ।
आफ्नो निर्वाचन क्षेत्रमा गएकाे बाढीबाट प्रभावितकाे उद्धारका लागि सभामुख अग्निप्रसाद सापकाेटा बिहानै हेलिकाेप्टरमा निस्केका भए पनि प्रतिकुल मौसमका कारण धुलिखेलबाटै फर्किएको थियो ।
बेपत्ताकाे खाेजी र घाइतेकाे उद्धारमा समस्या : प्रजिअ
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाह्रबिसेमा आएको पहिरो र बाढीमा फसेकाहरुको उद्धारमा कठिनाइ भइरहेको बताएका छन् ।
सो ठाउँमा घाइतेहरुको उद्धार, बेपत्ताकाे खाेजी कसरी गर्ने र स्थानीयलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठक बसेको पनि उनले जानकारी दिए ।
बैठकले मौसम नखुलेसम्म उद्दार गर्न नसकिने निचोड निकालेको छ । ‘ठाउँठाउँमा बाटो अवरुद्ध छ, जान सक्ने अवस्था नै छैन’, विपद् व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका प्रजिअ ढकालले भने, ‘यस्तो बेला कसरी उद्धार गर्ने हामी अन्योलमा छौं ।’
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७