काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद्काे बैठकले उनलाई आइजीमा बढुवा गर्ने निर्णय गरेकाे थियाे । सिंहदरबारस्थित गृहमन्त्रालयमा बिहीबार आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नवनियुक्त आइजिपी क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्दै पदीय चुनौतीलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो प्रयास रहने बताए ।
३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवाली बुधबार प्रहरी सेवाबाट अवकाश हुने भएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
आइजी थापा २०४९ साल बैशाख १९ गते प्रहरी निरीक्षकका रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । एआइजीका रुपमा साढे ३ महिना काम गरेपछि उनी आइजी बनेका हुन् ।
नेपाल प्रहरीका २८ औं आइजी थापाले २०७९ साल वैशाख १९ गतेसम्म प्रहरी संगठनकाे नेतृत्व गर्ने छन् ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७