काठमाडाैं । अविरल वर्षासँगै आएको पहिरोबाट सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिकाको जम्बुमा २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । उनीहरुको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनास्थलबाट ३ जना घाइतेलाई उद्धार गरिएको छ ।
बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले स्थानीय खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुलसँगै अरनिको राजमार्गको ४० मिटर जत्ति सडक बगाएको जानकारी दिए ।
मेयर शेर्पाले बाढीले जम्बु बजार बगाएको र जुरेमा समेत पहिरो गएको जानकारी दिएका छन् ।
रातभर परेको अविरल वर्षा र अरनिको राजगमार्गको सडकै बगाउँदा क्षतिको पूर्ण विवरण आइसकेको छैन । सिन्धुपाल्चोकमा एसपी प्रज्वल महर्जनले केहीबेरअघि प्रहरी घटनास्थल पुगिसकेको जानकारी दिए ।
बस्ती नै बगाएको जम्बुमा प्रहरी टोली पुगिसकेको र अहिले घटनाको विवरण संकलन भइरहेको महर्जनले बताए ।
मौसमकाे खराबीको कारण सभामुखसहित उडेकाे हेलिकोप्टर धुलिखेलको आकाशबाटै फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
अरनिको राजमार्गमा रहेको ड्यामसाइडस्थित जुरे पहिरोको मुखमा भोटेकोसी नदीले कटान गर्दा आवतजावत रोकिएको छ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीमा परेकाहरुकाे उद्धारमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको भन्दै सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७