काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि २८ गतेसम्म यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरेकाे छ ।
प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान छ । यस वर्ष वैशाखदेखि नै धेरै पानी परिरहेकाले बिहीबारदेखि हुने भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढ्ने प्राधिकरणले जानकारी दिएको छ।
पहाडी भेगको भूभाग गलिसकेकाले बिहीबादेखि हुने वर्षाले कतिपय स्थानमा पहिरो समेत जानसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्ने उल्लेख गरिएको छ ।
खासगरी प्रदेश १ र प्रदेश २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विशेष आग्रह गरिएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका होचा ठाउँमा डुबानको खतरा पनि छ ।
ठूला नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं. ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं. ११४९ मा २४ घण्टा सेवा उपलब्ध हुने जानकारी गराइएको छ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७