काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६-७७ मा ९ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकांश चालकको लापरवाहीबाट हुने गरेको छ। उपत्यकामा चालकको लापरवाहीबाट ८ हजार ४७२ दुर्घटना भएको छ।
यस्तै, मादक पदार्थ सेवनबाट ४३५, तीव्रगतिबाट ४२२, ओभरटेकबाट ५८, यान्त्रिक गतिविधि ४९, सडकको दुरावस्थाबाट १६, पैदलयात्रुको लापरवाहीबाट ४ र मौसम-चौपायाबाट ५ दुर्घटना भएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चालकले सवारी नियम नमान्ने प्रवृत्तिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताए ।
'तीव्र गति, मादक पदार्थ सेवन, गाडी तन्दुरुस्त अवस्थामा नराख्ने प्रवृत्तिका कारण पनि बढी दुर्घटना हुने गरेको छ,' उनले भने ।
उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी छन् । महाशाखाका अनुसार आर्थिक वर्ष २०७६-७७ मा उपत्यकामा सवारी दुर्घटनाबाट १४५ जनाको मृत्यु भएको छ। जसमा १७ देखि ३५ वर्षका ९४ जना छन् । यस्तै, १६ वर्ष मुनिका ७ र ३६ वर्षभन्दा माथिका ४४ जना छन् ।
उपत्यकामा गत आर्थिक वर्ष २०७५-७६ मा सवारी दुर्घटनाबाट २५४ जनाको मृत्यु भएको थियो। उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा २ पाङ्ग्रे चालक बढी छन् । आर्थिक वर्ष २०७६-७७ मा सवारी दुर्घटनाबाट ७६ जना २ पाङ्ग्रे (मोटरसाइकल-स्कुटर) चालकको मृत्यु भएको हो ।
यस्तै, मृत्यु हुनेमा ४७ पैदलयात्रु, बस दुर्घटनाबाट ६, साइकल दुर्घटनाबाट ५, ट्रक दुर्घटनाबाट ५, ट्रिपर दुर्घटनामा ३ र कार दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ।
उपत्यकामा बिहान र बेलुकाको समय भन्दा दिउँसोको समयमा बढी दुर्घटना हुने गरेको छ। उपत्यकामा आर्थिक वर्ष २०७६-७७ मा दुर्घटना भएका ९ हजार ४६१ सवारी साधनमध्ये दिउँसोको समयमा बढी दुर्घटना भएको देखिन्छ। बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म ३ हजार ७८६ दुर्घटना भएका छन्।
यस्तै, बिहान ६ बजेदेखि १२ बजेसम्म २ हजार ९०६, बेलुका ६ बजेदेखि राति १२ बजेसम्म २ हजार २८५ र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ४८४ दुर्घटना भएका छन् ।
महाशाखा प्रमुख ढकालले दिउँसोको समयमा सडकमा अत्याधिक सवारीसाधन निस्कने र तीव्र गतिका साथ चलाउने कारण बढी दुर्घटना हुने गरेको बताए।
उपत्यकामा एक ट्राफिक प्रहरीले १ हजार २८४ सवारी साधन व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । उपत्यकामा ट्राफिक जनशक्तिको दरबन्दी १ हजार ८७ रहे पनि हाल १ हजार ४०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन्। काठमाडौँ उपत्यकामा ४० ट्राफिक प्रहरी एकाई छन् ।
यस्तै, उपत्यकामा २ हजार ८३ किलोमिटर सडक छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७६-७७ को कात्तिक मसान्तसम्म वाग्मती अञ्चलमा १३ लाख ९६ हजार ५५० सवारीसाधन दर्ता भएका छन्। जसमध्ये ९ लाखको हाराहारीमा उपत्यकामा सञ्चालित छन् । यस्तै, देशभर ३५ लाख ३९ हजार ५१९ सवारीसाधन छन् । रासस
प्रकाशित मिति: बुधबार, असार २४, २०७७