काठमाडौं । लकडाउनको बहाना बनाएर पत्रकारहरूलाई कामबाट निकाल्ने, बेतलबी बिदा बस्न दबाब दिने, पारिश्रमिक नदिने, मानसिक तनाव दिने ठुला मिडिया हाउसविरुद्ध नेपाल पत्रकार महासंघले थालेको आन्दोलन चर्किंदै गएको छ ।
श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी कानुन, अन्तर्राष्ट्रिय श्रम कानुन तथा पत्रकार हक, हितसम्बन्धी कानुनी व्यवस्थाविपरीत मिडिया मालिकहरूले गरिरहेको गतिविधिविरुद्ध पत्रकारहरूले आन्दोलन चर्काएका हुन् ।
गत शुक्रबार काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गर्दै मिडिया मालिकहरूलाई श्रमजीवी पत्रकारहरूलाई अपमानजनक ढंगले कामबाट निकाल्ने काम बन्द गर्न आग्रह गरे पनि मिडिया मालिकहरूले सुनुवाइ नगरेकाले मंगलबारबाट आन्दोलन चर्काउनुपरेको महासंघले जनाएको छ ।
श्रमजीवी पत्रकारलाई दुःख र तनाव नदिन आग्रह गर्दागर्दै उल्टै थप पत्रकारलाई निष्कासन गरेर मिडिया मालिकहरूले अपराधी कामलाई बढावा दिएकाले न्यायिक संघर्ष बाध्यता बनेको जारी आन्दोलन संयोजक तथा महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए ।
जैसीका अनुसार मुलुकका नामी तथा आर्थिक रूपमा समेत सक्षम देखिने मिडिया हाउसले नै पत्रकारहरूको काम गरेर बाँच्न पाउने अधिकारविरुद्ध हर्कत गरेकाले त्यस्ता मिडिया मालिकलाई आन्दोलनको माध्यमबाट तह लगाइनेछ ।
यसअघि मिडिया हाउसहरूसँग महासंघको टोलीले श्रमजीवी पत्रकारहरूको हक, हित र अधिकारको ग्यारेन्टी गरबारे गरेको पहिचो चरणको छलफलबाट समाधानको संकेत नदेखिएको भन्दै महासंघ प्रतिनिधिहरूले नागरि दैनिक, एपी वान टेलिभिजनलगायत मिडिया हाउसको गेटमा कालो ब्यानर टाँसेर एक घन्टा धर्ना दिएका थिए । ब्यानरमा ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन गर । पेसागत सुरक्षाको ग्यारेन्टी गर,’ लेखिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा भएको सो धर्नामा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रगतिशील पत्रकार संघ, जनपत्रकार संगठनलगायत संस्थाका प्रतिनिधि सहभागी थिए । श्रमजीवी पत्रकारका पक्षमा समस्याको हल नहुँदासम्म आन्दोलन निरन्तर अघि बढ्ने महासंघले जनाएको छ ।
विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समिति सह–संयोजकसमेत रहेका जैसीले श्रमजीवी पत्रकारहरूलाई काममा नफर्काए र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण नबनाएसम्म आन्दोलन जारी रहने बताए । उनले मिडिया हाउस मालिकले कल्पना नगरेको ढंगले जारी आन्दोलनलाई अघि बढाइने चेतावनी पनि दिएका थिए ।
त्यसैगरी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको एक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका लागि राज्य जिम्मेवार हुन नसकेको धारणा राखेका थिए ।
प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले आवश्यक पर्दा अनेक प्रलोभन दिएर पत्रकार भित्र्याउने तर मन नलागेमा आफैंले दिएको नियुक्तिपत्रको अपमान गरेर पत्रकारहरूलाई हटाउने मिडिया मालिकलाई कानुनी कठघरामा उभ्याउनुपर्ने तर्क गरेका थिए ।
प्रेस कानुनविरुद्ध मिडिया मालिकले देखाएको रबैया कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारीले त्यसविरुद्ध संगठित र कडा आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए ।
कान्तिपुर दैनिक मिडिया हाउसमा कार्यरत पत्रकारहरूद्वारा गठित संघर्ष समितिका सदस्य श्रीराम वाग्लेले पत्रकारहरूमाथि गरिएको अपमानजनक व्यवहार तुरुन्त सच्याउन आग्रह गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७