चितवन । नारायणी लिफ्ट सिँचाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ ।
पश्चिम चितवनको जमिन सिँचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट मंगलबार पानी छाडिएको हो।
नारायणी लिफ्ट सिँचाइ खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख ई. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेन्ड ४ हजार लिटर पानी फाल्ने गर्दछ ।
पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगन्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।
पानी छोडिएपछि अहिले बी र सी नगरबाट पानी पठाइएको छ। बी नहरबाट २ हजार ४ सय हेक्टर र सी नहरबाट २ हजार ३ सय हेक्टर क्षेत्रफल सिँचाइ हुने गरेको छ ।
नारायणी लिफ्टमा अहिले ४ वटा पम्प छन् । २ वटा ४ क्युमेक र २ वटा २ क्युमेकका पम्प छन्।
साउन महिनाबाट अर्को ठूलो पम्पसमेत सञ्चालनमा ल्याइने छ। पम्प सञ्चालनमा आएसँगै १ लाख ५० हजार उपभोक्ता लाभान्वित हुने नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले जानकारी दिए ।
उनका अनुसार आजदेखि कात्तिकको पहिलो सातासम्म पानी छोडिने छ। पानी छोड्नुअघि पम्पमा परम्पराअनुसार पूजाआजसमेत गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७