काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको जानकारी दिए ।
असार १ गते नै सरकारले निर्देशन जारी गरे पनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता शर्माले बताए ।
उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यद्यपि अहिले गरिएको निर्णय होइन ।’
एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताए पनि कार्यान्वयन नभएको प्रवक्ता शर्माको भनाइ थियो ।
अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७