सप्तरी । सप्तरीमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै छ । होम क्वारेन्टाइनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टाइनमा बस्नेको संख्या ३ सय ६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ जना महिला छन् ।
९ नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लाको स्थानीय तहमा रहेका ८६ वटा क्वारेन्टाइनस्थलमा ३ हजार ८ सय शय्या छ ।
क्वारेन्टाइनमा बस्नेको संख्या घटेपछि ४७ क्वारेन्टाइनस्थल पूर्णतया खाली भएका छन् । बाँकी ३९ क्वारेन्टाइनमध्ये अधिकांशमा १ देखि ५ जना मात्र छन् ।
हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ४ सय ९७ महिला र ४ हजार ५ सय ६० पुरुष गरी ५ हजार ५७ पुगेको छ । क्वारेन्टाइनमा हालसम्म राखिएकामध्ये ४ सय ६५ महिला र ४ हजार २ सय ८६ पुरुष गरी ४ हजार ७ सय ५१ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय, सप्तरीका नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
जेठ २१ गते क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ३४ महिला र १ हजार ७ सय ९० पुरुष गरी १ हजार ९ सय २४ पुगेको थियो । त्यसपछि क्वारेन्टाइनमा बस्ने क्रमशः घट्यो । अधिकांशको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र संक्रमण पुष्टि भएका केहीलाई उपचारका लागि आइसोलेसन केन्द्रमा राखिएकाले क्वारेन्टाइनमा बस्ने निरन्तर घट्दै गइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
असार २१ गतेसम्म होम क्वारेन्टाइनमा बस्ने ४ हजार १ सय ५ पुगेका छन् । सप्तरीमा संक्रमित संख्या ३ सय २१ पुगेकोमा १ सय ३९ जना घर फर्किएका कोभिड–१९ व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीतकुमार झाले बताए ।
हाल २० महिला र १ सय ४९ पुरुष आइसोलेसन केन्द्रमा छन् । पछिल्लो पटक थप भएका डाक्नेश्वरी नगरपालिकाका ८, विष्णुपुर गाउँपालिकाका ६ र सप्तकोसी गाउँपालिकाका ४ संक्रमितलाई राजविराज ल्याउने तयारी भइरहेको छ ।
सप्तरीमा थप भएका १८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय २१ पुगेको हो । सबै स्थानीय तहमा कोरोना संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सप्तरीमा पिसिआर परीक्षणका लागि हालसम्म ४ हजार ७ सय ९१ जनाको स्वाब संकलन गरिएकामध्ये ३ सय २१ जना कोरोनाबाट संक्रमित भएका छन् भने ४ हजार २ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाब संकलन गरिएकामध्ये २ सय ५२ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७