शनिबार विश्वमा भेटिएकाे कोराेना संक्रमितको संख्या अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर संक्रमितको संख्या २ लाख १२ हजार ३ सय २६ थियो ।
यो अवधिमा सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा संक्रमित २ लाख १२ हजार ३ सय २६ व्यक्तिमध्ये झण्डै आधा संक्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २ सय १३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १ सय ५ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।
आइतबारसम्ममा विश्वभर १ करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट संक्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरसका कारण ५ लाख ३३ हजार ६ सय १९ जनाको ज्यान गुमेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।
संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा १ लाख ३२ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ ।
अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७ सय ७० र १५ लाख ७८ हजार ३ सय ७६ व्यक्ति संक्रमित छन् ।
रूसमा संक्रमित संख्या ६ लाख ७४ हजार ५ सय १५ छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम छ । अर्थात् कोभिड–१९ का कारण रूसमा १० हजार २७ व्यक्तिको मृत्यु भएको छ ।
त्यस्तै भारतमा ६ लाख ७३ हजार ९ सय ४ संक्रमित र १९ हजार २ सय ७९ मृत्यु, पेरूमा २ लाख ९९ हजार ८० संक्रमित र १० हजार ४ सय १२ मृत्यु, स्पेनमा २ लाख ९७ हजार ६ सय २५ संक्रमित र २८ हजार ३ सय ८५ मृत्यु, चिलीमा २ लाख ९१ हजार ८ सय ४७ संक्रमित र ६ हजार १ सय ९२ मृत्यु भएको छ ।
यसैगरी बेलायतमा संक्रमितको संख्या २ लाख ८४ हजार ९ सय छ भने ४४ हजार १ सय ९८ जनाको मृत्यु भएको छ ।
यसबाहेक बढी संक्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन छन् ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७