काठमाडाैं । आइतबार देशका धेरैजसाे स्थानमा वर्षा हुने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएकाले आज पनि धेरै स्थानमा वर्षा हुने भएको हो ।
यसैगरी आउँदो ३ दिन प्रमुख र मझौला नदीहरू कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीमा, लगायतमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का १-२ स्थानमा भारी वर्षाको सम्भावना छ । यी प्रदेश हुँदै बहने नदी तथा खोलामा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
आज कन्काई, तिनाउ, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा बहाव बढ्दो हुने र केहीमा बहाव सतर्कता तह आसपास सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
२५ असारदेखि देशैभरका नदीको बहाव बढ्ने र २६-२९ असारसम्म प्रदेश १ र २ को चुरे र तराईबाट बहने प्राय सबै नदीमा ठूलो बाढीको जोखिम रहने भएकोले पूर्वतयारी र प्रतिकार्यको लागि जुट्न सचेत गराइएको छ ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७