भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ ।
दुर्घटनास्थल नजिक २ वटा पानी बोक्ने ट्यांकरले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोशित स्थानीयले दुवै ट्यांकरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
उनले दुर्घटनामा परी से ६ प ६४२६ नम्बरकाे मोटरसाइकलमा सवार ठकुरीको घटनास्थलमै मृत्यु भएको बताए । ‘स्थानीयले पानी ट्याङ्करले ठक्कर दिएर दुर्घटना भएको आरोप लगाएका छन्’, उनले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदै छ ।’
स्थानीयले बा १ क ९७८४ र से १ क १७४ नम्बरकाे पानी ट्यांकरमा आगजानी गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा तनाव बढेपछि सदरमुकाम भीमदत्तनगरबाट प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएकाे छ । स्थानीयले मृतकको शव उठाउन मानेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७