काठमाडौं । शुक्रबार देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
गत २ दिन केही कम भएको वर्षा शुक्रबारबाट फेरि बढ्ने मौसमविद्ले बताएका छन् । माैसमविद्का अनुसार आगामी ३ दिन माैसम सक्रिय रहने र भारी वर्षा हुने छ ।
महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाकाे सम्भावना छ ।
ती क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।
भोलि शनिबार पनि प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
यसैगरी आइतबार प्रदेश १, २, बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।
हेर्नुहाेस् आगामी ३ दिनकाे माैसमी अनुमानः
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७