भरतपुर। चितवनमा ६५ साना सिँचाईका काम सम्पन्न भएका छन्। १३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ।
एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो ट्युबेल, बोरिङ, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरेको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलका अनुसार चालु आर्थिक वर्षमा धान जोनअन्तर्गत ७५, तरकारी जोनमा ४०, केरा जोनमा १५ र परियोजनाअन्तर्गत पाँचवटा सिँचाईका कार्यक्रम सञ्चालन भएका छन्।
कार्यक्रम सम्पन्न भएसँगै ५४० बिघामा सिँचाई हुने अपेक्षा गरिएको छ। एउटा स्यालो ट्युबवेलले चार बिघासम्म सिँचाई गर्न सकिने उनले जानकारी दिए।
साना सिँचाई कार्यक्रम सञ्चालनका लागि कार्यालयले चालु आर्थिक वर्ष एक करोड ४० लाख रूपैयाँ विनियोजन गरेको थियो। सबैभन्दा धेरै तरकारी जोनले ६० लाख बजेट विनियोजना गरेको छ।
त्यस्तै केरा जोनअन्तर्गत ४५ लाख, धान जोनअन्तर्गत ३० लाख र परियोजनाअन्तर्गत पाँच लाख बजेट छुट्याइएको थियो।
प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित साना सिँचाई कार्यक्रममा ५० प्रतिशत उपभोक्तको लगानी रहेको छ।
यस कार्यक्रमअन्तर्गत माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाका सबै तहमा साना सिँचाइका कार्यक्रम सञ्चालित छन् ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७