काठमाडौँ । ‘भूषण दाहाल’ नामै काफी छ, नेपाली मिडियाका लागि । ३२ वर्षको अनवरत टेलिभिजन यात्राबाट आफूलाई देशको अब्बल सञ्चारकर्मीको रुपमा उभ्याएका भूषण दाहालले लामो व्यावसायिक जीवनमा कैयौं उतारचढाव भोगेका छन् ।
देशले अनेकौं घुम्ती र मोडहरुको सामना गर्यो, समाजले आफूलाई अनेकौं बान्कीमा परिवर्तन गर्यो । तर दाहाल भने नेपालको टेलिभिजन उद्योगमा ३ दशकदेखि निरन्तर कर्म गरिरहे । समयसँगै समाजका चापहरु बदलिन्छन्, त्यो एउटा नियमित प्रक्रिया पनि हो । तर हरेक सफल व्यक्तिले त्यो समाजको परिवर्तित चापलाई पछ्याउन सक्नुपर्छ । एउटा मान्छे निरन्तर ३ दशकभन्दा बढी समय एउटै पेसामा त्यो पनि सधैँ टाकुरामा कसरी रहन सक्छ ? गएको एक साँझ दाहालले आफ्नै बान्कीमा सपाट जवाफ दिए– ‘म यो पेसामा आफ्नो प्यासनले (शौखले) आएको थिएँ । जब मानिस आफ्नो शौखलाई पेसा बनाउँछ, तब उसलाई न थकान हुन्छ न कुनै बोझ । आफ्नो रुची र शौखले जो मानिस आफ्नो काम गर्छ, त्यहाँ थकान भन्ने शब्दावली नै हुँदैन । म मेरो टेलिभिजन कर्म गर्दा आफूलाई पूरै समर्पित भएको पाउँछु । लाग्छ शब्द, श्रव्य र दृश्यहरुसँग खेल्न पाउँदा म कतै हराइरहेको हुन्छु, जसरी एउटा योगी आफ्नो ध्यानमा हराइरहेको हुन्छ । त्यसैले मेरा हरेक दिन नयाँ र सिर्जनशील हुने गर्छन् ।’
उनको विचारमा जो मानिस आफूलाई कुनै काम गर्दा खुसी महसुस गर्दैन भने पूर्णरुपमा समर्पित हुनै सक्दैन । समर्पित नहुँदा सके सफल नै हुँदैन, यदि सफल भइहाले उसको सफलता अरुका लागि मात्रै हुन्छ । किनकि उ भित्रैबाट खुसी नै हुँदैन । त्यसैले प्रत्येक मानिसले आफ्नो खुसी अनुसारको पेसा रोज्नुपर्छ ।
नेपालमा टेलिभिजन उद्योग नेपाल टेलिभिजनदेखि सयौँको संख्यामा पुगिसकेको छ । आज राजधानी काठमाडौँमा मात्रै होइन, देशका प्रत्येक सहर र गाउँगाउँसम्मै स्थानीयस्तरमै टेलिभिजनहरुको विकास भइसकेको छ । स्याटेलाइटदेखि केबल मात्रै होइन, अब इन्टरनेट बेसमा टेलिभिजनहरु ब्रगेल्ती खुलिरहेका छन् । ती टेलिभिजनमा हरेक समय र कालमा अनेक रुपरङ र शैलीका कार्यक्रम र ती सञ्चालन गर्ने प्रस्तोताहरु देखिन्छन् । तर कमैले मात्र साँच्चिकै मानिसहरुको मनमा निरन्तर छाप छोड्न सक्छन् ।
टेलिभिजन शब्द, आवाज र दृश्यहरुको जोडदार मिश्रण हो । जसले तीनै विषयमा आफूलाई अब्बल बनाउन सक्छ, उ एक सफल टेलिभिजनकर्मी बन्न सक्छ । तर टेलिभिजनमा काम गर्नेहरुमध्ये धेरै थोरैलाई हामी भेट्न सक्छौँ, जसलाई उल्लेखित तीन वटै कुराको निपुणता होस् । कोही शब्द चयनमा सिपालु छन् त कोही बोल्न मात्रै अनि कोही चाहिँ प्रस्तुत गर्न मात्रै निपुण हुन्छन् ।
भूषण दाहाल नेपालका यस्ता टेलिभिनजकर्मी हुन्, जो तीन वटै विषयमा आफूलाई अब्बल सावित गर्न सफल भइसकेका छन् । उनको वजनदार आवाजमा दर्शक स्रोताहरुको विश्वास अडिएको हुन्छ भने प्रस्तुतिमा शालीनता र सन्तुलन । यही अब्बलताको परिणाम होला बहुसंख्यकलाई मिडियाकर्म गरेर जीवन बिताउन धौधौ पर्ने नेपालमा उनले एउटा रहरलाग्दो जीवन यही मिडियाकर्म गरेर बाँचिरहेका छन् ।
गएको १८ वर्षदेखि नेपालको अग्रणी टेलिभिजन संस्था कान्तिपुर टेलिभिजनको नेतृत्वदायी भूमिकामा रहेका दाहालले त्यति नै वर्षसम्म निरन्तर ‘फायरसाइड’ नामको कार्यक्रम सञ्चालन गरे । १८ वर्षदेखि टेलिभिजनको व्यवस्थापकीय जिम्मेवारी र फायरसाइड चलाइरहेका उनले गएको हिउँदमा कान्तिपुरबाट स्वेच्छिक रुपमा बिदा लिने निर्णय गरे । कान्तिपुर टेलिभिजनको पर्यायबाची जस्तै भइसकेका भूषण दाहालको बहिर्गमन त्यो संस्थाका लागि मात्रै होइन, धेरैका लागि चासोको विषय बन्यो ।
टेलिभिजन छोड्नुको कारणबारे उनको छोटो भनाइ थियो– ‘मैले देशको अग्रणी टेलिभिजनको पहिलो इटा राख्नेदेखि समृद्ध हुन्जेलसम्मको सुनौलो यात्रा गरेँ । व्यवस्थापकीय जिम्मेवारी त आफ्नो ठाउँमा छँदै थियो, त्यसबाहेक पनि दर्शक स्रोताको बीचमा फायरसाइड मार्फत आउने गरेको थिएँ । यसबीच मिडियाका मिडियमहरुमा क्रान्ति नै भयो । आज मानिसहरुलाई माध्यमहरुको कमी रहेन । अब यतिका वर्ष अन्तर्वार्तामूलक कार्यक्रम गरिसकेपछि केही समय आफ्नो व्यक्तिगत प्रथामिकताहरुलाई सम्पन्न गरेर नयाँ शैलीको कार्यक्रम मार्फत जनताबीच आउने लालसाले म त्यति ठूलो निर्णय गर्ने मोडमा पुगेको हुँ ।’
हो पक्कै पनि उनका लागि त्यति लामो यात्रामा बिट मार्नु त्यति सहज पक्कै थिएन । उनको कार्यक्रम फायरसाइड त आफ्नो विधाको एउटा ब्रान्ड नै थियो । मूलतः राजनीतिक र समसामयिक विषयमा प्रश्नोत्तर शैलीमा सञ्चालन गरिने त्यो शो नेपालका राजनीतिकर्मी र समसामयिक विषयमा चासो राख्नेहरुका लागि निकै लोकप्रिय थियो । फायरसाइडमा सहभागी हुन देशका नेता, राजनेतादेखि उद्योगी व्यापारीसम्म लालायित हुने गर्थे । उनको शालीन शैली, स्पष्ट भाषा र बहुचर्चित ब्रान्डका कारण धेरैका लागि त्यो सपनाको गन्तव्य थियो । जहाँ सहभागी भएर घरघरका टेलिभिजनमार्फत आफ्नो विचार राख्ने लालसाले धेरैलाई तानिरहेको हुन्थ्यो । यति धेरै लोकप्रियताको उचाइमा पुगिसकेको कार्यक्रम गरिसकेको मिडियाकर्मी अब कस्तो कार्यक्रम लिएर आउँदै छन् ? धेरैको चासो रहेको यस विषयमा उनले भने– ‘मैले फायरसाइडमार्फत तत्कालीन नेपालको सम्पूर्ण राजनीतिक जीवनको चित्र प्रस्तुत गर्ने प्रयास गरेँ । एउटा मिडियाकर्मीको रुपमा मैले र मद्वारा सञ्चालित कार्यक्रमले विगतका सबै घटनाक्रमको साक्षी हुने मौका पायौँ । त्यसबीच मुलुकले भोगेका आरोहअवरोह र घटना–परिघटनाहरुलाई सिलसिलाबद्धरुपमा रेकर्ड गर्ने काम गर्न पाएकामा आफूलाई भाग्यमानी महसुस गर्दछु ।’
फायरसाइड एउटा त्यस्तो इतिहासको संग्रह हो, जतिबेला नेपालको जीवनमा निकै नै रोमाञ्चक राजनीतिक परिवर्तन भयो । आउने पुस्ताले त्यो इतिहास जान्न चाहे त्यसबेलाका फायरसाइडका प्रस्तुतिहरु हेरे पुग्ने छ ।
अब नयाँ शैली, नयाँ टेलिभिजनमार्फत ‘द ब्राभो डेल्टा शो’
१८ वर्ष लामो यात्रा गरेको कान्तिपुर टेलिजिभन र फायरसाइडबाट बिदा लिएका भूषण दाहालले अब अर्को टेलिभिजन च्यानल एपिवान एचडीमार्फत द ब्राभो डेल्टा शो नामको नयाँ टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन् । लामो व्यावसायिक यात्राबाट ब्रेक लिँदै गर्दा दाहाललाई लागेको थियो, अब केही समयपछि मात्रै अर्को कार्यक्रम गर्नुपर्ला । तर यसबीचमा संसारले भोगिरहेको महामारीका बीच नेपालले भोग्नुपरेका नयाँ घटनाक्रमले उनलाई तत्कालै टेलिभिजनमा फर्किन अभिप्रेरित गरे ।
नेपालले यतिबेला भारतले लामो समयदेखि कब्जा गरिराखेको आफ्नो भूभाग फिर्ता ल्याउन औपचारिक पहलकदमी लिएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत समेटिएको नक्सा नेपालको संसदले सर्वसम्मतले पारित गरेको छ । यस घटनालाई लिएर केही महिनायता भारत र नेपालका बीच मतभेदहरु भइरहेका छन् । दाहालले भने– ‘हुन त एउटा टेलिभिजन कार्यक्रमले निर्णायक केही गर्ने होइन । तर अहिले भइरहेका घटनाक्रमहरुलाई छड्के किनारबाट मात्रै हेर्नुभन्दा आफ्नो तर्फबाट पनि मुुलुकको हितमा केही योगदान गरौँ भन्ने लागिरह्यो । त्यही जिम्मवारीले पूर्वयोजनाभन्दा अलि चाँडै फेरि टेलिभिजन यात्रामा फर्किने निर्णय लिएँ ।’
द ब्राभो डेल्टा शो सञ्चालनका लागि एपिवान टेलिभिजनसँग औपचारिक सम्झौता भइसकेको छ । यतिबेला कार्यक्रमको आन्तरिक तयारीका कामहरु भइरहेका छन् । नेपाली टेलिभिजन जगतमा सुप्रसिद्ध मात्रै होइन, सधैँजसो अग्रणी भूमिकामा रहेर आफ्नो कर्म गरिरहेका दाहालका लागि यो यात्रा भने नितान्त नौलो हुने छ । यसअघि फायरसाइड सञ्चालन र उत्पादनको रुपमा जनताको बीचमा देखिने गरे पनि दाहाको भूमिका कान्तिपुर टेलिभिजनमा नेतृत्वदायी थियो । जहाँ उनले आफूले सञ्चालन गर्ने कार्यक्रम मात्रै होइन, सिंगो टेलिभिजनको नेतृत्व गर्नुपर्थ्याे । सम्पूर्ण कार्यक्रमको गुणस्तर हेर्ने मात्रै होइन, टेलिभिजनको सम्पूर्ण नीतिगत योजना बनाउनेसम्मका कामको भारी बोक्नुपर्ने अवस्था थियो । टेलिभिजनको नाफा घाटादेखि कार्यक्रमको रुपरेखा अनि भविष्यबारे पनि परिकल्पना गरिरहनु पर्थ्याे ।
तर अब त्यस्तो भूमिका नभई सम्पूर्ण रुपमा आफ्नो ध्यान आफूले चलाउने कार्यक्रमको निर्माण र प्रस्तुतिमा मात्रै केन्द्रित गर्नुपर्ने छ । यो भूमिकाबारे दाहालले उस्ताहित हुँदै भने, ‘टेलिभिजन आफैँमा सिर्जनशील पेसा हो । कार्यक्रम बनाउनु पनि त्यही सिर्जना कर्म हो । त्यस्तै कार्यक्रमहरुको शृंखलाबाटै एउटा टेलिभिजनले दिनभरीको आफ्नो विषयवस्तु पाउँछ । अब म स्वतन्त्ररुपमा आफ्नो कार्यक्रम निर्माण गर्नेतर्फ केन्द्रित हुने छु । चुनौतीहरु छन् तर जति स्वतन्त्ररुपमा कार्यक्रम निर्माणमा समाहित भइन्छ, त्यतिनै अब्बल कार्यक्रम बनाउन सक्ने अपेक्षा पनि छ । आफ्नो कार्यक्रम प्रसारण हुने टेलिभिजन च्यानलको बाँकी सन्दर्भहरुमा आफूले समय दिनु नपरेपछि सम्पूर्ण ध्यान कार्यक्रम राम्रो बनाउनेतर्फ हुने छ । त्यसले अवश्य पनि दर्शकहरुले रुचाउने कार्यक्रम बन्ने छ ।
द ब्राभो डेल्टा शो फायरसाइड जस्तै अन्तर्वार्तामूलक मात्रै हुने छैन । दाहालले कार्यक्रमको प्रकृतिबारे भने– ‘यो अन्तर्वार्तामूलक पनि हुन्छ । तर त्यति मात्रै हुँदैन । अन्तर्वार्तासँगै यसमा धेरै कुरा हुने छन् । यसअघि फायरसाइडले मूलतः राजनीतिक र समसामयिक विषयलाई बढी स्थान दियो । तर यस कार्यक्रमले सबै प्रकारका विषय समावेश गर्ने जमर्को गर्ने छ ।’
दाहालका अनुसार अब यो कार्यक्रमको दायरा अलि फराकिलो हुने छ । जहाँ राजनीतिक विषयहरु त हुन्छन् नै, त्यसबाहेक खुसी र दुःखका कथाहरु पनि समावेश हुने छन् । सफलता र असफलताका शृंखलाहरुलाई पनि यो कार्यक्रमले आफ्नो विषयवस्तु बनाउने छ । यो फायरसाइडको पुनरावृत्ति होइन । यसमा प्रस्तुति शैली अन्तर्वार्तामूलक मात्रै नभएर केही अन्य शैली पनि समावेश गरिने छ । समग्रमा कार्यक्रमले राजनीतिक, सामाजिक र जीवनका सबै पाटालाई समावेश गर्ने कोसिस गर्ने छ । उनले भने– ‘यो शो साँच्चिकै दर्शकहरुले हेर्न लायक एउटा टेलिभिजन प्याकेज बन्ने छ ।’
विश्व यतिबेला कोभिड १९ नामको नयाँ भइरसको मारमा परेको छ । संसारकै अर्थिक गतिविधि ठप्पप्रायः भएको सन्दर्भमा नेपाल पनि अछूतो हुने कुरा भएन । आर्थिक गतिविधिको शून्यतामा झरेको आजको दिनमा नेपालका मिडियाहरु पनि एकपछि अर्को संकटमा पर्दै गएको समाचारहरु सार्वजनिक भइरहेका छन् । महामारीको मारमा परेर मिडिया र मिडियाकर्मीहरुको भविष्य अन्यौलमा परेका समाचार दिनहुँ आइरहेका बेला एपिवान टेलिभिजनले उनलाई अनुबन्ध गर्ने महत्वकांक्षी निर्णय गरेको छ । यो निर्णय टेलिभिजनका लागि मात्रै चुनौतीपूर्ण छैन, स्वयं भूषण दाहालका लागि पनि चुनौतीपूर्ण छ । एकातिर नयाँ टेलिजिभनमार्फत आफ्नो पुरानो लोकप्रियताको उचाइलाई कायमै राख्नुपर्ने छ भने अर्कातर्फ एउटै प्रकारका कार्यक्रम र तिनका नक्कलहरु देखेर, सुनेर आजित भएका दर्शकहरुलाई नयाँ शैली र स्वादका साथ टेलिभिजनतर्फ फर्काउने र अड्याइराख्ने जिम्मेवारी उनको काँधमा छ ।
आफ्नो क्षेत्रको सबैभन्दा अब्बल व्यक्तिको परिचय स्थापित गरिसकेका दाहालले यसअघि सुरु गरेका सबैजसो योजनामा सफलता मात्रै देखेका छन् । द ब्राभो डेल्टा शोले उनको लोकप्रियताको ग्राफ बढाउँछ या घटाउँछ, त्यो भने उनको भविष्यको कर्मले नै बताउने छ । हामी दाहालको व्यावसायिक जीवनको सफलताको कामना गर्दछौँ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७