काठमाडाैं । बुधबार देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार बुधबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ का १/२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
आज (बुधबार) र भोलि (बिहीबार) तुलनात्मक रूपमा वर्षा केही कम हुने सम्भावना रहे पनि पर्सि (शुक्रबार) देखि भने वर्षा फेरि बढ्ने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
‘आज र भोलि वर्षा केही कम हुने सम्भावना देखिएको छ,’ पौडेलले भने, ‘तर शुक्रबार वर्षा बढ्ने सम्भावना छ ।’
महाशाखाले बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भइरहेको र सुदूरपश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ ।
दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली हुने र सबै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, राति देशका सबै प्रदेश सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७